• शुक्रबार ५-२६-२०८३/Friday 09-11-2026
  • ON AIRClosing Tone
  • UP NEXT

आजसम्म अनुत्तरित प्रश्न - आखिर तिनीहरुका को थिए ?

अशोक विश्वकर्मा । ठीक एक वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सामाजिक सञ्जालहरू पनि नेपालमा दर्ता भएर चल्नुपर्ने, देशको नियम मान्नुपर्ने र वैध कारोबार गर्नुपर्नेजस्ता कारण देखाउँदै विशेषगरी फेसबुक, ह्वाट्सएपलगायत सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने निर्णय गर्‍यो । पूर्ण रूपमा प्रतिबन्ध भइसकेको थिएन, आंशिक रूपमा चलिरहेकै थियो । तर सरकार भने आफ्नो निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रतिबद्ध थियो ।

 

नेपालीहरूलाई सामाजिक सञ्जालमा लाग्न लागेको प्रतिबन्धको निर्णय जायज लागेको थिएन । विशेषगरी जेनजी पुस्ता यो निर्णयप्रति असन्तुष्ट थियो । सरकारको निर्णयको जति चर्चा थियो, त्यसको पछाडि–पछाडि देशमा बढिरहेको भ्रष्टाचार, नेताका आसेपासेले मात्र अवसर पाउने अवस्था, उनीहरूको भड्किलो जीवनशैली, रोजगारी सिर्जना हुन नसकेको अवस्थालगायतका विषय पनि मन्द रूपमा फैलिरहेका थिए ।

 

रेडियोमा बिहान १० बजेको समाचार पढ्ने नियमित ड्युटीमा आउने म त्यो दिन पनि कार्यालय आएको थिएँ । जेनजी समूहले विद्यार्थीको पोसाकमै सरकारको निर्णयविरुद्ध माइतीघरमा आउन आह्वान गरेको समाचार पढेँ । दिनभर एउटै प्रश्नले मनमा अड्डा जमाइरह्यो– अब के होला ?

 

समय बित्दै गयो । आन्दोलन, युवाको भिड, उनीहरूका नारा, उनीहरूको आन्दोलनलाई फलानोको सहयोग, यो व्यक्ति पनि सहभागी हुनेलगायतका अपडेट हेर्दै समय बितिरहेको थियो । युवाहरू आक्रोशित बन्दै संसद् भवनभित्र छिर्ने भन्दै अघि बढेको, प्रहरीले अवरोध गरेकोलगायतका समाचार आउन थाले । लगत्तै–प्रहरीको गोली लागेर एक जनाको मृत्यु, घाइते, बल प्रयोग, भिडन्त, मृतकको संख्या बढ्यो... यस्तै समाचारहरू आउन थाले ।

 

साँझ सात बजेको दिनभरिका समाचार समेटिएको ‘ढोरबाराही हाइलाइट्स’ सकेर घर जाने तयारीमा थिएँ। ८ बज्न बाँकी थियो। कार्यालयबाट निस्कँदै गर्दा शुक्लागण्डकी नगरपालिकाका मेयरसमेत रहनुभएका रेडियोका अध्यक्ष कृष्णराज पण्डित सर भर्‍याङमा भेटिनुभयो । “कति जना मरेछन् ?” उहाँले प्रश्न गर्नुभयो। “२१ जनाको मृत्यु भयो भन्ने समाचार पढेँ,” मैले सामान्य जवाफ दिएँ। छोटो कुराकानी भयो। उहाँ भन्दै हुनुहुन्थ्यो, “अझै बढ्छ होला, भोलि के–के हुने हो ?” मैले भनेँ, “तपाईंहरूलाई पनि खतरा छ, अलि ध्यान दिनुपर्ने जस्तो छ । भिड जनप्रतिनिधिसँग पनि आक्रोशित भएको पाएको छु ।” उहाँले खासै केही हुँदैन, हामीले राम्रो काम गरेका छौँ, यस्तै भन्दै अघि बढ्नुभयो। म घरतिर लागेँ ।


भोलिपल्ट–भदौ २४

नेताको घर घेर्ने, कारबाही गर्ने रे, लोकेसनसहित नक्सा सार्वजनिक भएको छ, यो नेताको घरनजिकैको चोकमा युवाहरू भेला भएलगायतका समाचार आउन थाले । क्रमशः तत्कालीन सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी, प्रचण्ड निवासतर्फ आन्दोलनकारी, ओली निवासतर्फ भिड अघि बढ्योलगायतका समाचार आइरहेका थिए ।

 

मित्र कृष्ण गौतमको फोन आयो । “हाम्रो छोराहरू नगरपालिका अगाडि हिजो मारिएको न्यायका लागि धर्ना बस्ने र समाचार बनाउनुपर्‍यो है,” उहाँले भन्नुभयो ।

 

करिब ११ बजेतिर पृथ्वीराजमार्ग हुँदै २०–५० जनाको समूह रेडियो भवन (मेयर पण्डितको निवाससमेत रहेको) अगाडि आयो। राजमार्गमा नारा लगाउँदै, मेयरलाई लक्षित गर्दै नारा लगाउने त्यो भिड अघि बढ्यो । म प्रेस ज्याकेट लगाएर नगरपालिकातिर लागेँ ।

 

निश्चल (कृष्ण गौतमका छोरा) सहित १०–१२ जना विद्यार्थी शान्तिपूर्ण रूपमा ब्यानर अघि सारेर धर्नामा बसेका रहेछन् । सामान्य कुराकानी गरेँ, फोटो–भिडियो लिएँ । त्यसपछि मैले उनीहरूलाई भनेँ, “माथितिर भिड गएको छ। यस्तो बेला कुनै बदमास आएर तिमीहरूको आन्दोलन विथोल्न सक्छ। अब उठेर जाऊ ।” आखिर भयो पनि त्यस्तै ।

 

२०–२५ जनाको समूह नारा लगाउँदै बन्केवा चोकबाट माथितिर गएको थियो । तर नगरपालिकातिर सयौँको भिड जम्मा भयो। सरकार र प्रधानमन्त्रीविरुद्ध नारा लाग्यो। विस्तारै त्यो भिड नगरपालिका कार्यालय परिसरमा प्रवेश गर्‍यो । म त्यहाँ नेतृत्व गरिरहेको व्यक्ति र चर्को नारा लगाउने तथा बदमासी गर्न खोज्नेहरूलाई लक्षित गरेर फोटो र भिडियो बनाउन थालेँ । भिडलाई आक्रोशित बनाउन हाल नगरपालिकामै कार्यरत एक कर्मचारीसहित आफूलाई युवा अभियन्ता भन्न रुचाउने केही व्यक्ति सक्रिय थिए ।

 

एक जनाले नगरपालिकातिर ढुंगा प्रहार गर्‍यो । झ्यालको सिसा फुट्यो । त्यसपछि शंकर पन्तलगायतले भिडलाई नगरपालिकाबाट बाहिर निकाले। आक्रोशित भिड बाहिर निस्कन थाल्यो । म कार्यालयतर्फ आएँ । एकछिनपछि त्यही भिड मेयर निवासअघि आयो । आन्दोलन गर्न थाल्यो, नारा घन्कायो । म माथिबाट भिडियो बनाउँदै थिएँ । म भएकै ठाउँतिर ढुंगा प्रहार भयो । सिसा फुट्यो । माहोल त्रसित बन्यो । इन्स्योरेन्सकी कर्मचारी बहिनी आत्तिएर बाहिर निस्किइन् । ढुंगा लगातार प्रहार भइरह्यो । सिसाको घर भएकाले मलाई बम पड्किरहेको जस्तो लाग्यो ।

 

मेयरपत्नी शान्ता मेडम रुँदै तल झर्नुभयो । हामी त्यही कार्यालयको स्टोर कोठामा केहीबेर सुरक्षित बस्यौँ। म्याडम रुनुभएको थियो। मैले सान्त्वना दिने प्रयास गरेँ । आन्दोलनकारीहरूले घरभित्र पस्ने, आगो लगाउने धम्की दिइरहेका थिए। एकदमै त्रासदीपूर्ण वातावरण बन्यो । रेडियो बन्द गर्‍यौँ । शान्ता मेडम आवश्यक सामानसहित छिमेकीको घरतिर लाग्नुभयो । हामीले पनि अफिस छोडेर बाहिर निस्कियौँ ।

 

त्यो भिड फेरि नगरपालिका कार्यालयतिर अघि बढ्यो । करिब साढे १ बजेतिर म २ बजेको समाचार प्रसारण गर्न कार्यालयमा छिरेँ । कार्यालयका कर्मचारी कोही पनि थिएनन् । मैले देशभरका समाचारहरू प्राप्त भएसम्म अपडेट गराएँ ।  दुलेगौँडाको अवस्थाबारे रेडियोमार्फत जानकारी गराएँ । त्यसपछि रेडियोका कर्मचारीहरूलाई फोन गरेँ । सनिता दिदी नजिकै रहेको माइतीघरमा हुनुहुन्थ्यो । उहाँले फोनमा भन्नुभयो, “नगरपालिकाबाट धुवाँ उडिरहेको छ । आगो लगाएका छन् कि ?”

 

मैले फेरि रेडियो बन्द गरेँ र नगरपालिका तर्फ लागेँ । त्यहाँ आगो लागिसकेको थियो । भूमि प्रशासनको कार्यालयमा लागेको आगो भर्खरै निभाइएको थियो । पार्किङमा रहेका मोटरसाइकलहरू जलेका थिए । आक्रोशित समूहले उपमेयर चढ्दै आएको सवारीसाधनलाई हुत्याउँदै, जबर्जस्ती गुडाउँदै बाहिर चौरमा ल्याएर तोडफोड गर्‍यो । आगजनी गर्‍यो । रोक्न खोज्नेहरूलाई धम्की दिन थाल्यो । अवस्था निकै भयावह बन्यो । आन्दोलनकारीका साक्षी जस्तै बनेर त्यो भिडको अगाडि प्रतिरोध नगरी मौन बसिरहनुपर्ने अवस्था आयो । ठूलो विध्वंश भयो । भिड फेरि मेयर निवासमा प्रवेश गर्ने भन्दै अघि बढ्यो । त्यहाँ नगरप्रहरी र स्थानीयले क्षतिग्रस्त दमकलबाट पानी हालेर आगो निभाए ।

 

हामी फेरि बन्केवा चोक आयौँ । नारा लागिरहेको थियो । पृथ्वीराजमार्गमा ठूलो उपस्थितिसहित आन्दोलन चर्किरहेको थियो । वारि र पारिका भवनहरूमा ढुंगा प्रहार भइरहेका थिए । मैले मोबाइलले भिडियो खिच्दै थिएँ । एक आन्दोलनकारीले मेरो हातबाट मोबाइल खोसेर भुइँमा बजार्न खोजे । मैले अनुनय–विनय गरेर मोबाइल फिर्ता लिन सफल भएँ ।

त्यसपछि म बन्केवा चोकभित्रतिरका दृश्य खिच्न आएँ । मेयर निवास (रेडियो भवन) अघिको आन्दोलनबाट केही समूह बन्द रहेको गेट फोडेर भित्र पस्यो । मेयर पण्डितले चढ्ने कारमा ढुंगामुढा र रड प्रहार गरियो । मैले चढ्दै आएको मोटरसाइकल पनि तोडफोड गरियो । कार्यालयको स्कुटरसमेत क्षतिग्रस्त बन्यो ।

आन्दोलनकारीहरूले घिसारेर, गुडाएर मेयरको कारलाई सडकमा ल्याए र जलाए । त्यही बेला मेयर पण्डितको फोन आयो। उहाँ भन्दै हुनुहुन्थ्यो– “आन्दोलनकारीले चाहेका हुन् भने पदबाट राजीनामा दिन्छु । निजी र सरकारी सम्पत्तिमा थप क्षति नगरून् । त्यहीअनुसार जानकारी गराइदिनु ।” लगत्तै मेयर पुत्र सुजन पण्डितको पनि फोन आयो । उहाँले बुवाको राजीनामाको व्यहोरा दिँदै समाचार र सामाजिक सञ्जालमार्फत प्रचार गर्न आग्रह गर्नुभयो ।

 

स्थिति भयावह बनिरहेको थियो। भिड अझै आक्रोशित थियो । हेल्थपोस्टमा राखिएको मेयर पण्डित चढ्दै आएको सरकारी गाडी पनि त्यसैगरी पृथ्वीराजमार्ग हुँदै विपीचोकतिर ल्याइयो र जलाइयो । हामी भारी मनसहित हेरिरह्यौँ, हेरिरह्यौँ–तनहुँ खबरको कार्यालयबाट ।

 

पत्रकार राजन उपाध्याय, विनोद ढुंगाना र मैले सामूहिक रूपमा त्यो समाचार सम्प्रेषण गर्‍यौँ। एकछिनमै त्यो चर्चाको विषय बन्यो ।

“मेयरले राजीनामा दिए रे !”

भन्दै खबर फैलियो । भिड क्रमशः कम हुँदै गयो । हामी राजनजीको निवासतर्फ लाग्यौँ । देशभरको अवस्था बुझ्ने र चिन्तन गर्नेबाहेक अन्य कुरा भएन । मेरो मोटरसाइकल क्षतिग्रस्त भएको र सवारीसाधन ठप्प भएका कारण राजन सरले नै मलाई घरसम्म पुर्‍याउने कुरा भयो । सहकर्मी श्रेयालाई अर्की कर्मचारी सनिता दिदीलाई छोड्न लगाइयो ।

 

रेडियो २ बजेदेखि नै बन्द थियो । काम हुन सकेन । रेडियो रहेको भवनमा आन्दोलनकारीहरू प्रवेश गर्ने योजनामा छन् भन्ने हल्ला व्यापक थियो । साँझ म कार्यालयमा आएँ । क्षतिग्रस्त बाइक र स्कुटर छिमेकी दाइको घरमा लगेर सुरक्षित राखेँ र राजन सरसँगै घरतर्फ गएँ । बाटोमा आन्दोलनकारीहरू समूह–समूहमा देखिन्थे । उनीहरू वडा कार्यालय र जनप्रतिनिधिका निवासलाई लक्षित गर्दै आगो लगाउन, तोडफोड गर्न हिँडिरहेका थिए ।

 

हामी आगलागीपछि क्षतिग्रस्त बनेको शुक्लागण्डकी नगरपालिका–६ को वडा कार्यालय र वडा नम्बर ७ को कार्यालयको अवस्था अवलोकन गर्दै बाटो लाग्यौँ । घर पुगेपछि जनप्रतिनिधिका निवास, सरकारी कार्यालय (वडा भवनहरू) र कर्मचारीका निवासमा भएका आक्रमणका जानकारी लिँदै राष्ट्रिय समाचारहरू हेर्दै त्यो दिन बित्यो ।


एक वर्षपछि पनि उही प्रश्न

एक वर्ष बितेछ । त्यो कहालीलाग्दो दिनका दृश्यहरू अझै पनि आँखाअघि ताजा छन् । ढुंगा लागेर फुटेको सिसा, जलिरहेका सरकारी सवारीसाधन, धुवाँले ढाकिएको नगरपालिका, आक्रोशित भिड, र सुरक्षित ठाउँ खोज्दै हिँड्नुपरेको त्यो अवस्था–सबै सम्झँदा अहिले पनि मन भारी हुन्छ । तर एक वर्षपछि पनि एउटा प्रश्न भने अनुत्तरित नै छ ।

एक दशकभन्दा बढी समयदेखि यही क्षेत्रमा छु। यही भूगोलमा छु। यही समाजमा रहेर पत्रकारिता गरिरहेको छु । तर ती हजारौँको भिडमा केहीबाहेक अरू किन अपरिचित थिए ? किन उनीहरूलाई चिन्न सकिएन ? किन उनीहरूले मलाई चिन्न सकेनन् ? अनि किन मप्रति त्यस्तो व्यवहार भयो ?

आखिर ती को थिए ? त्यो दिन सडकमा देखिएको भिड केवल आक्रोशित युवाको भिड थियो कि त्यसको पछाडि अरू कुनै तहको योजना पनि थियो ?  एक वर्ष बितिसक्दा पनि त्यो दिनको सम्झनाले यी प्रश्नहरूलाई झन् गहिरो बनाइदिएको छ । समय अगाडि बढिसकेको छ। घटनाहरू इतिहास बनिसकेका छन्। तर प्रत्यक्ष रूपमा भोगेको त्यो दिन भने अझै स्मृतिमै रोकिएको छ।

त्यो दिन बित्यो, एक वर्ष बित्यो । तर त्यो दिनले छोडेको प्रश्न अझै बितेको छैन।

प्रतिकृया दिनुहोस

सरकारले विपद्मा काम गरेकै छ तर अलि ढंग पुगेन कि ?

नागरिकको जीवन सहज रहुन्जेल उसले आफ्नो मेहनत र पसिनाले कमाएको आम्दानीबाट राज्यलाई कर तथा विभिन्न माध्यमबाट योगदान गरिरहेको हुन्छ । तर जब नागरिकमाथि

यसपाला ३२औँ विश्व आदिवासी दिवस उत्सवमय नबनोस्

✍️ एलिना मगर हामी विश्वभर रहेका आदिवासी समुदाय ३२औँ विश्व आदिवासी दिवस मनाउने संघारमा छौँ। वर्षेनी मनाइने यो दिवस यसपटक संविधान संशोधन गर्ने

चटपटको स्वाद र परदेशी बुबाको पसिना

यात्रा केवल एक स्थानबाट अर्को स्थानमा पुग्ने माध्यम मात्र होइन, कहिलेकाहीँ समाजका अनेकौँ पाटाहरु नियाल्ने, मानिसका सोच, व्यवहार र जीवनशैली बुझ्ने