दुलेगौडा महोत्सव गर्न छैन प्रशासनको अनुमति
अशोक विश्वकर्मा पर्सि अर्थात् असोज ८ गतेदेखि तनहुँको दुलेगौँडामा सञ्चालन गर्न लागिएको महोत्सवका लागि आयोजकले जिल्ला प्रशासन कार्यालयबाट अनुमति नलिएको पाइएको छ । शुक्लागण्डकी युवा क्लबले असोज १८ गतेसम्म महोत्सव आयोजना गर्ने तयारी गरे पनि प्रशासनबाट हालसम्म कुनै पनि प्रकारको अनुमति प्राप्त नभएको हो ।
मंगलबार शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले महोत्सव रोकाएर सांस्कृतिक मेला मात्रै सञ्चालन गर्न दिनुपर्ने माग नगरपालिकासँग गरेपछि रेडियो ढोरबाराहीले महोत्सवको आधिकारिकताबारे खोजी गरेको थियो। त्यस क्रममा आयोजकले प्रशासनबाट प्राप्त अनुमति पत्र देखाउन सकेनन् । आयोजकले महोत्सव सञ्चालनका लागि शुक्लागण्डकी नगरपालिका–४ बाट नगरपालिकालाई सिफारिस गराएको भए पनि नगरपालिकाबाट जिल्ला प्रशासन कार्यालयमा ‘दुलेगौडा–खैरेनीटार दसैँ सांस्कृतिक मेला’ सञ्चालनका लागि अनुमति माग गर्दै पत्राचार गरेको प्रमाण भेटिएको छ । तर, जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त भएको प्रमाण भने भेटिएको छैन ।
यता, क्लबका अध्यक्ष मिनबहादुर थापाले जिल्ला प्रशासन कार्यालय तनहुँले अनुमति दिने बताएको भए पनि हालसम्म अनुमति प्राप्त नभएको स्वीकार गर्नुभएको छ । उहाँले महोत्सवको अघिल्लो दिनसम्म अनुमति पत्र ल्याउने दाबी गर्नुभयो । अध्यक्ष थापाले महोत्सव सञ्चालनको जिम्मा व्यवसायीहरूलाई दिएको समेत पुष्टि गर्नुभएको छ। क्लबलाई एक लाख रुपैयाँ दिएर व्यवस्थापकीय तथा प्रशासनिक कार्य गर्ने सर्तमा व्यास–३ का ऋषि थापा र रामप्रसाद गुप्ताले महोत्सव सञ्चालन गर्ने सम्झौता गरेको पाइएको छ। सम्झौतामा महोत्सवबाट हुने सम्पूर्ण आम्दानी दोस्रो पक्ष अर्थात् ऋषि थापा र रामप्रसाद गुप्ताले लिने उल्लेख छ ।
अनुमति माग गरिएको कार्यक्रमभन्दा फरक प्रकृति र नाममा महोत्सव आयोजना गर्न लागिएको भन्दै व्यवसायी र क्लबबीच विवाद चर्किएको छ । महोत्सव आयोजक क्लब र शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघअन्तर्गतको वडा नम्बर ४ व्यवस्थापन समितिबीच तिहारपछि महोत्सव गर्ने सम्झौता भएको समेत देखिएको छ ।
सम्झौतामा महोत्सवको मिति सार्न नसके फेन्सी, कस्मेटिक तथा भाँडावर्तनका स्टल कम राखेर बजारको व्यापार व्यवसायमा असर नपार्ने उल्लेख गरिएको छ । मंगलबार दिउँसो रेडियो ढोरबाराहीका पत्रकार अशोक विश्वकर्मा महोत्सव आयोजना स्थलमा पुगेर अनुमति पत्र माग गर्दा आयोजकले देखाउन सकेनन् ।
दोस्रो पक्षका रामप्रसाद गुप्ताले अर्का ब्यवसायि ऋषिराम थापासँग अनुमति रहेको बताएका थिए भने थापाले क्लबका सदस्यसमेत रहेका शुक्लागण्डकी–४ का वडा सदस्य महिप ज्वारचनसँग प्रशासनको अनुमति रहेको प्रमाण भएको दाबी गर्नुभएको थियो । वडा सदस्य ज्वारचनले अनुमति अध्यक्ष मिनबहादुर थापासँग रहेको बताउनुभयो । यता अध्यक्ष थापाले भने जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त नभएको स्पष्ट पार्नुभयो । उहाँका अनुसार क्लबका सचिव प्रज्वल गुरुङलाई जिल्ला प्रशासन कार्यालयबाट अनुमति ल्याउने जिम्मेवारी दिइएको थियो । तर, सचिव गुरुङले आफूले प्रशासनिक काम नगरेको र सम्पूर्ण जिम्मेवारी व्यवसायी ऋषि थापालाई दिएको बताउनुभएको छ ।
महोत्सव स्थलमा भेटिएका क्लब सदस्य ज्वारचन तथा शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य गमबहादुर केसीलगायतले महोत्सवको तयारी पूरा भइसकेपछि विवाद सिर्जना हुनु दुःखद भएको बताएका छन् । उनीहरूले महोत्सव सञ्चालनमा अवरोध गर्न नहुने र व्यावसायिक स्टल सञ्चालनबिनाको मेला महोत्सव हुन नसक्ने तर्क गरेका छन् ।
यसरी प्रशासनको अनुमति प्राप्त नगरी, स्थानीय व्यवसायीलाई प्रत्यक्ष असर पर्ने गरी र अनुमति माग गरिएको कार्यक्रमभन्दा फरक प्रकृतिमा महोत्सव आयोजना गर्न लागिएपछि उद्घाटनको सम्मुखमा विवाद चर्किएको देखिएको छ । आयोजक पक्षले आवश्यक प्रक्रिया पूरा नगरेको अवस्थामा स्थानीय सरकार र सुरक्षा प्रशासनको भूमिकाबारे समेत चासो बढेको छ ।
दुलेगौँडा सांस्कृतिक महोत्सव विवादमा, रोक लगाउन व्यवसायीको माग
दुलेगौँडा । शुक्लागण्डकी नगरपालिकाको दुलेगौँडामा शुक्लागण्डकी युवा क्लवले पर्सि बिहीबारदेखि १० दिने महोत्सव आयोजना गर्ने तयारी गरिरहेको छ । तर,
दुलेगौँडामा तीज गीत प्रतियोगिता, पोखराको वर्चस्व
दुलेगौँडा । दुलेगौँडामा आयोजना गरिएको खुला तीज गीत प्रतियोगितामा पोखरा–२३ को सहनशील दिदीबहिनी समूह प्रथम भएको छ। शुक्लागण्डकी नगर उद्योग
खैरेनीटारमा सिद्धार्थ आमा समुह प्रथम
खैरेनीटार । खैरेनीटारमा आयोजना गरिएको खुला तीज गीत प्रतियोगितामा शुक्लागण्डकी–३, कवासेको सिद्धार्थ आमा समूह प्रथम भएको छ। १० समूह सहभागी

प्रतिकृया दिनुहोस