• शुक्रबार ५-२६-२०८३/Friday 09-11-2026
  • ON AIRClosing Tone
  • UP NEXT

शुक्लागण्डकीमा ग्यास अभाव : विक्रेता भन्छन्– ‘हामीसँग ग्यास छैन’

दुलेगौँडा । शुक्लागण्डकी नगरपालिकाले नगर क्षेत्रभित्र देखिएको खाना पकाउने एलपी ग्यासको अभावलाई सहजीकरण गर्न ग्यास विक्रेताहरूसँग छलफल गरेको छ।

 

नगरपालिकाका कार्यवाहक नगरप्रमुख खुमबहादुर विक ‘राजु’ले बजारमा देखिएको ग्यास अभावको वास्तविक अवस्था बुझ्न तथा समस्या समाधानका उपाय खोज्न विक्रेताहरूसँग छलफल गरिएको जानकारी दिनुभयो।

 

छलफलमा सहभागी ग्यास विक्रेताहरूले मागअनुसार ग्यासको आपूर्ति नहुँदा बजारमा अभाव सिर्जना भएको बताएका छन्। कम्पनीहरूले आवश्यक संख्यामा भरिएका ग्यास सिलिन्डर उपलब्ध नगराउँदा उपभोक्ताको माग पूरा गर्न नसकिएको उनीहरूको भनाइ छ।छलफलमा व्यवसायीहरूले आवश्यक मात्रामा ग्यास आपूर्ति सुनिश्चित गर्न नेपाल आयल निगमसँग पहल गरिदिन नगरपालिकालाई आग्रह गरेका छन्।

 

खैरेनीटारका ग्यास विक्रेता सुरेश श्रेष्ठले कम्पनीहरूले मागको तुलनामा निकै कम संख्यामा भरिएका ग्यास सिलिन्डर उपलब्ध गराउने गरेको बताउनुभयो।

 

त्यस्तै, दुलेगौँडाका व्यवसायी बसन्त ज्वारचनले बजारमा देखिएको ग्यास अभावका लागि व्यवसायी जिम्मेवार नभएको स्पष्ट पार्नुभयो। उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गरेको हुन सक्ने उल्लेख गर्दै उहाँले यस विषयमा अनुगमन तथा छानबिन गर्नुपर्ने माग गर्नुभयो।

 

दुलेगौँडाकै व्यवसायी विधान गुरुङले पर्याप्त ग्यास आपूर्ति गर्न नसक्दा व्यवसायीहरूलाई उपभोक्ताबाट धम्की आउने तथा प्रशासनिक दबाबसमेत झेल्नुपरेको गुनासो गर्नुभयो। यस्तो अवस्थाले व्यवसायीहरूमा त्रास सिर्जना भएको भन्दै उहाँले सरकारले व्यवसायीको सुरक्षाप्रति पनि ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले आधा भरिएका सिलिन्डरबाट उपभोक्ताको माग धानिँदै आएको अवस्थामा पूर्ण तौल कायम गर्ने बहानामा ग्यासको अभाव सिर्जना भएको दाबी गर्नुभयो।

 

बैठकमा शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष समुन्द्रराम श्रेष्ठ, शुक्लागण्डकी नागरिक समाजका अध्यक्ष उमानाथ पाठक, शुक्लागण्डकी–४ का वडाध्यक्ष राजकुमार वाग्ले, वडा नम्बर ६ का वडाध्यक्ष बुद्धिबहादुर थापालगायतले देशभर देखिएको ग्यास अभावको अवस्थालाई सहज बनाउन आम उपभोक्तालाई सचेत गराउन तथा व्यवसायीलाई आवश्यक सहजीकरण गर्नुपर्नेमा जोड दिएका थिए।

व्यवसायीहरूसँगको छलफलपछि शुक्लागण्डकी नगरपालिकाले आम उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न अनुरोध गरेको छ। साथै, घरमा अतिरिक्त ग्यास सिलिन्डर भण्डारण गरिएको भए समस्यामा परेका उपभोक्तालाई उपलब्ध गराउनसमेत नगरपालिकाले आग्रह गरेको छ।

 

नगरपालिकाले ग्यासको आपूर्ति बढाउन शक्ति र गृहलक्ष्मी ग्यास कम्पनीलाई आग्रह गर्ने तथा अन्य कम्पनीका ग्यास सिलिन्डरसमेत नगर क्षेत्रमा बिक्री–वितरण गर्ने वातावरण मिलाउन पहल गर्ने जनाएको छ।

प्रतिकृया दिनुहोस

सरकारप्रति अहिले नै शंका गर्नुपर्दैन– सांसद न्यौपाने

खैरेनीटार । तनहुँ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपानेले वर्तमान सरकारप्रति अहिले नै शंका गर्नुपर्ने अवस्था नरहेको

कांग्रेस महामन्त्री पौडेलको आरोप - इतर पक्षले पार्टी फुटाउने प्रस्ताव ल्यायो

दुलेगौँडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्रको इतर पक्षले पार्टी विभाजन हुनसक्ने गरी प्रस्ताव अघि सारेको आरोप लगाउनुभएको

लालपुर्जा माग्दै वडा कार्यालय पुगे स्थानीय, आन्दोलन चर्काउने चेतावनी

दुलेगौँडा । लामो समयदेखि लालपुर्जाको प्रतीक्षामा रहेका तनहुँको शुक्लागण्डकी नगरपालिका–७ का स्थानीयले जग्गाको स्वामित्व प्रमाणपत्र वितरणमा